सप्तरीमा थारु होमस्टे र संग्राहलयद्वारा पाँच जना सम्मानित

समाचार

सप्तरी, ५ भाद्र । थारु होमस्टे तथा थारु संग्राहलयका लागि योगदान पु¥याएको भन्दै पत्रकारसहित पाँच जना सम्मानित भएका छन् ।

कञ्चनरुप नगरपालिका–६ जमुवास्थित थारु सामुदायिक होमस्टे र थारु सांस्कृतिक संग्राहलयको स्थापना कालदेखि नै पत्रिकामार्फत निरन्तर रुपमा सकारात्मक प्रचार प्रसार गरी देशविदेशमा पहिचान गराउन सहयोग गरेवापत अन्नपूर्णकर्मी पत्रकार मनोहर पोखरेल सम्मानित भएका हुन् ।

यसैगरी होमस्टे र स्रग्रहालयको स्थापना, निर्माण र विकासमा योगदान पुर¥याएको भन्दै कोसी टप्पु वन्यजन्तु आरक्षका तत्कालिन प्रमुख संरक्षण अधिकृत रामदेव चौधरी, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झा, आइडिएस नेपालका टिम लिडर छोटेलाल चौधरी र जैबिक विविधता संरक्षणविज्ञ नन्दलाल माझी सम्मानित भएका हुन् ।

थारु संग्रहालयमा आयोजित होमस्टे पर्यटन विकास सम्बन्धी एक कार्यक्रममा सामुदायिक होमस्टे र पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिले उनीहरुलाई सम्मान प्रदान गरेको हो । कञ्चनरुप नगरपालिका प्रमुख बसन्तकुमार मिश्रले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरेका थिए ।

थारु समुदायको ऐतिहासिक रहन सहन, रीतिरिवाज, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले ०७५ वैशाखमा थारू सामुदायिक होमस्टे र ०७७ कात्तिकमा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ ।

आयअर्जन, पर्यटकिय विकास, थारू कला, संस्कृति, परिकार र पहिचानको जगेर्ना गर्नुपर्छ भन्दै थारू अगुवाको पहलमा उक्त ठाउँमा आठवटा होमस्टे थालनी भएको छ ।

आफ्नो कला, संस्कृति, भाषा, भेषभूषा अमूल्य सम्पत्ति भएको र यसको संरक्षणमा आफैँ लाग्नुपर्छ भन्ने सोचले होमस्टेपछि थारू सांस्कृतिक सङ्ग्रहालय सञ्चालनको तयारी भइरहेको थारु सामुदायिक होमस्टेका अध्यक्ष बिष्णुदेव चौधरीले बताए ।

होमस्टे क्षेत्र नजिकै कोशीटप्पु वन्यजन्तु आरक्ष, त्रियुगा र सप्तकोशी नदी, चन्द्रशम्सेर राणाले बनाएको नेपालकै जेठो चन्द्र नहर, प्रसिद्ध धार्मिकस्थल चतरा र बराह क्षेत्र, सामुदायिक वन, चुरे क्षेत्र, कमल दहलगायत प्रसिद्ध धार्मिकस्थल रहेकाले होमस्टे र सङ्ग्रहालयलाई आयआर्जनको आधार बनाएर सांस्कृतिक हबका रूपमा विकास गर्न खोजिएको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीको भनाई छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ