मोरङ, ८ भाद्र । मिक्लाजुङ्ग गाउँपालिका–६ भण्डारी टोल बस्ने ४५ वर्षीय धनराज लिम्बुको हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मिक्लाजुङ्ग गाउँपालिका–६ भण्डारी टोल बस्ने ३३ वर्षीय रविन तामाङ, २५ वर्षीय संजय तामाङ, ३० वर्षीय आईतराज तामाङ र ४० वर्षीय भाग्य बम्जन रहेका छन् ।
भदौ ३ गते राति रविन तामाङ र उनकै श्रीमतीबीच भएको वादविवाद मिलाउन जाँदा धनराजलाई उनीहरुले लाठी प्रहार गरी गम्भीर घाइते बनाएपश्चात तत्काल स्थानीय अस्पताल हुँदै थप उपचारको लागि बिराटनगर अस्पतालमा लगिएकोमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको थप अनुसन्धानका क्रममा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूरमा ८ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया