प्रदेश २ मा रासायनिक मलको अभाव नहुने

समाचार

पर्सा, १० भाद्र । प्रदेश २ मा गहुँ बालीका लागि रासायनिक मलको अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनीको वीरगन्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख गोरखनाथ केसीले केही परिमाणमा मल मौज्दात रहेको र केही आउने क्रममा रहेकोले धान रोपाइँ गर्दाको जस्तो अवस्था नदोहोरिने प्रतिबद्धता जनाए ।

गहुँ बाली लगाउने बेला विशेषगरी डीएपी मलको माग बढी हुन्छ । कार्यालयमा अहिले २ हजार १ सय ९४ मेट्रिक टन युरिया, २ हजार ९ सय मेट्रिक टन डीएपी र १ सय ८२ मेट्रिक टन पोटास मल मौज्दात छ ।

२५ हजार मेट्रिक टन डीएपी र ३० हजार मेट्रिक टन युरिया मल छिट्टै आउने क्रममा रहेकाले गहुँ बालीका लागि मल अभाव नहुने केसीको दाबी छ ।

अब धान बालीका लागि युरिया मलको आवश्यकता नरहेको उनको भनाइ छ । तर धान गोडमेलपछि पनि मल हाल्नुपर्ने हुनसक्ने भन्दै किसानहरूले त्यतिबेला मलको पर्याप्त व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

कार्यालयको तथ्यांकअनुसार साउनमा मात्र २ हजार १ सय २८ मेट्रिक टन युरिया, ८ सय १६ मेट्रिक टन डीएपी र ३९ मेट्रिक टन पोटास मल बिक्री भएको छ ।

गत आर्थिक वर्षमा कम्पनीको वीरगन्ज कार्यालयबाट १० हजार ६६ मेट्रिक टन युरिया, ५ हजार ३ सय २९.६ मेट्रिक टन डीएपी, ४ सय २७.६५ मेट्रिक टन पोटास र ७ सय ८ मेट्रिक टन कृषि चुन बिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ