काठमाडौं, १० भाद्र । नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ ।
देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र जोर्डनसँग मल खरिदको वातावरण बनाइदिन आग्रह गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालय, ती देशमा रहेका नेपाली नियोग एवं यहाँँ रहेका ती देशका राजदूतमार्फत मल उपलब्धताका लागि पहल गरिएको मन्त्रालयको भनाइ छ ।
मल खरिदका लागि प्रस्ताव गरिएका मध्ये भारत र चीन नै नेपालको पहिलो प्राथमिकता रहेको छ ।
गत वर्ष नै अघि बढाइएको भारतसँगको जीटूजी ब्युँताएर मल भित्र्याउन पनि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।
सत्ता परिवर्तनसँगै सेलाएको भारतसँगको जीटूजीबारे प्रधानमन्त्री तहबाटै परामर्श सुरु भएको र नेपालस्थित भारतीय दूतावासलाई पनि सहजीकरणका लागि आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया