नयाँ गाडि खरिद गर्न मन्त्रीले मागे ३ करोड रुपैयाँ 

समाचार

जनकपुरधाम, १० भाद्र । प्रदेश २ का मन्त्री भरतप्रसाद साह तथा राज्यमन्त्री रुबी कर्णले मन्त्रालयमा आठ वटा गाडी हुँदाहुँदै थप गाडी खरिद गर्न अर्थ मन्त्रालयसँग ३ करोडभन्दा बढी रकम माग गरेकी छन् ।

३ वटा गाडी खरिद गर्न अर्थ मन्त्रालयसँग ३ करोड ७ लाख रुपैयाँ माग गरिएको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जानकारी दिए ।

मन्त्री साहका लागि २ लाख ५० हजार रुपैयाँ मोबाइल खरिदका लागि समेत रकम माग गरिएको छ ।

यद्यपि, प्रवक्ता कुशवाहाले मोबाइल खरिदका लागि रुपैयाँ माग गरिएको विषयमा भने अनभिज्ञता प्रकट गरे । अहिले आन्तरिक मामिला तथा सञ्चारमन्त्री साह र राज्यमन्त्री कर्ण सफारी गाडी चढ्दै आएका छन् ।

त्यस्तै, सचिव वीरेन्द्र यादव टोयटाको रश गाडी प्रयोग गर्दै आएका छन् । आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज कुशवाहाले प्रयोग गर्दै आएको गाडी मन्त्रालयलाई फिर्ता गरिएको छैन ।

उनीसँग मन्त्रालयको ह्युण्डायको भेनु गाडी छ । यस अतिरिक्त मन्त्रालयसँग एउटा स्कोर्पियो, एउटा टाटा सुमो र २ वटा पिकअप गाडी गरी कुल ८ वटा गाडी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ