पत्रकारको पीडा पत्रकारका नेताको मुखबाट

समाचार

जनकपुर, १६ भाद्र । कोभिड महामारीका कारण थुप्रै पत्रकार आर्थिक समस्या तथा पीडामा रहेपनि खुलेर गुनासो लेख्न र पोख्न सकेका छैनन् ।

नेपाल पत्रकार महासंघको प्रादेशिक समितिका अध्यक्षहरूले आ–आफ्नो कार्यपत्रमा थुप्रै पत्रकार रोजगारी र स्वास्थ्यसँग सम्बन्धित समस्यामा रहेपनि सामाजिक प्रतिष्ठाका कारण जिल्ला शाखाहरूमा लिखित जानकारी नदिइने गरिएको बताए ।

नेपाल प्रेस इन्स्टिच्यूट काठमाण्डौले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा आयोजना गरेको “नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिड–१९ ले पारेको असर” विषयक भर्चुअल कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखेरेलले डेढ वर्षमा २३ पत्रकारले ज्यान गुमाएको, एक हजारभन्दा बढीले आफन्त गुमाएको तथा थुप्रै पत्रकार व्यावसायिक रुपमै प्रभावित भएपनि मिडिया क्षेत्रप्रति राज्य संकीर्ण र अनुदार हुनु दुर्भाग्यपूण भएको जिकिर गरे ।

मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको प्रदेश तथा स्थानीय सरकारले मिडिया तथा सञ्चार क्षेत्रका लागि सघाउने काम गरिरहेको र मिडिया तथा सञ्चार उद्योगका विभिन्न क्षेत्रमा कर छुटको सोच बनाएको बताए । 

प्रदेश अध्यक्षहरूले प्रदेश सरकार एवं विभिन्न मन्त्रालयले सञ्चारसँग सम्बन्धित नीति नियम बनाउँदा एवं कार्यक्रमहरू गर्दा समन्वय हुनुपर्नेमा जोड दिए । 

प्रदेश १ का प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी प्रमुख यज्ञ शर्मा, प्रदेश २ का आम सञ्चार प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर यादवले प्रदेश सरकारबाट सञ्चार क्षेत्रसँग सम्बन्धित गतिविधिले पत्रकारहरूलाई मद्दत पुगेको जिकिर गरे । 

भर्चुअल कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रशासन प्रमुख झविन्द्र भुसालले कोभिड महामारीका बीच पत्रकारहरूको समस्या बुझ्ने र समाधान गर्ने गरेको दाबी गरे ।  

इन्ष्टिच्यूटका कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी तथा कानुनविद काशीराज दाहालले कोभिडको बेला भएको मात्रै नभएर हरेक क्षण पत्रकार र पत्रकारिता बिकासको लागि काम गर्नुपर्ने सुझाव दिए । 

कार्यक्रममा बरिष्ठ पत्रकार कपिल काफ्ले, लक्ष्मण उप्रेती, गोपाल बुढाथोकी, क्षेत्रीय सञ्चार स्रोत केन्द्रका प्रमुख बीरेन्द्र शर्मासहितको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ