वीरगञ्ज, १७ भाद्र । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य एवं सांसद विमल श्रीवास्तवले जसपा अध्यक्ष उपेन्द्र यादवको उद्देश्य पद, धन र विलासिताको जीवन रहेको आरोप लगाएका छन् ।
बुधबार वीरगञ्जको नारायणी अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टको उदघाटन गर्दै उनले आफू दुर्भाग्यले कुनै बेला यादव नेतृत्वको पार्टीमा रहेको बताए ।
यादवले मधेश र मधेसीको नाममा राजनीतिक गरेर मधेशीलाई नै बेचेको आरोप लगाए ।
‘मैले उनको उद्देश्य जम्मा तीन वटा देखेँ,’ यादवलाई इङ्गित गर्दै उनले भने, ‘पहिलो उद्देश्य जुनसुकै हालतमा पनि पदमा बस्नै पर्ने, दोस्रोमा धन कमाउनै पर्ने र तेस्रोमा विलासिताको जिवन ।’
अहिले मन्त्रिमण्डल गठनमा ढिलाइ यादवकै कारणले भएको उनको आरोप छ । जसपाका डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ जस्ता नेताहरुलाई मधेसको बारेमा केही थाहा नभएका उनको भनाइ थियो ।
नारायणी अस्पतालमा श्रीवास्तवको संसदीय विकास कोषको रकमबाट अत्याधुनिक अक्सिजन प्लान्ट निर्माण भएको हो ।
तपाईको प्रतिक्रिया