महोत्तरी, १७ भाद्र । महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाका करिब १७ महिनापछि पुनः सञ्चालनमा आएको छ ।
महोत्तरीको जलेश्वरस्थित मूल भन्सार भिट्ठामोड सीमा नाकाको मुख्य बाटोबाटै सञ्चालनमा आएको हो ।
कोरोना महामारीका कारण २०७६ चैत ११ गतेदेखि बन्द रहेको नाका बन्द गरिएको थियो । जसका कारण सर्वसाधारणहरू छेउछाउबाट आवतजावत गर्ने गर्दै आएका थिए ।
जलेश्वर नगरपालिकाको सीमासँगै जोडिएको वडा नम्बर ३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब १०० जनाले सीमा नाकामा धर्ना बसेपछि सर्वसाधारणको आवतजावत खुला गरिएको हो ।
नाकाबाट मालवाहक ट्रक, टिपरलगायत साधन लकडाउनका बेला पनि निर्बाध आवतजावत हुने गरेको भए पनि सर्वसाधारणलाई रोक लगाइएको थियो ।
भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरू ५०० मिटर टाढा खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गर्दै आएका थिए ।
नाकाबाट पैदल आवागमन शुरू भए पनि सार्वजनिक तथा निजी सवारी साधन अझै सञ्चालन भएको छैन ।
मालवाहक गाडीहरू पहिले झैँ आउजाउ गरिरहेको जलेश्वर भन्सार कार्यालयले जनाएको छ । अहिले पनि औपचारिक रुपमा नेपाल भारतको सीमा नाका बन्द नै रहेको छ ।
तपाईको प्रतिक्रिया