काठमाडौं, २० भाद्र । गृह मन्त्रालयले हुम्लाको नाम्खामा सीमा सम्बन्धी अध्ययन गर्न सहसचिव जयनारायण आचार्यलाई खटाउने भएको छ ।
उनलाई संयोजक तोकेर नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ मा पर्ने नेपाल–चीन सीमा विवाद अध्ययन गर्न प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सम्मिलित समिति गठन गरिएको हो ।
गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले छानबिन समितिको संयोजकमा सप्तरीका प्रमुख जिल्ला अधिकारी समेत रहेका आचार्यलाई तोकिएको बताए । आचार्यको ठाउँमा हालै तुइन घटना छानबिन समितिका संयोजक रहेका सहसचिव जनार्दन गौतमलाई पठाइएको छ ।
समितिमा रहने सदस्यहरुको नाम पठाउन प्रहरी, सशस्त्र र नापी विभागलाई पत्राचार गरिएको पोखरेलले बताए । भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले ’चीनसँगको सीमा समस्या’ अध्ययन गर्न भन्दै समिति गठन गर्ने निर्णय गरेको थियो ।
चीनतर्फको सीमा क्षेत्र छुट्याउने ११ र १२ नम्बर स्तम्भको नेपाली भू–भाग मिचिएको भन्दै कर्णाली प्रदेशका कांग्रेस सांसदीय दलका नेता तथा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले यस विषयमा अनुसन्धान गर्न भन्दै पटकपटक माग गर्दै आएका छन् ।
उनको मागमा पूर्व उपप्रधानमन्त्री समेत रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि समर्थन जनाउँदै छानबिनका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका थिए । त्यसपछि देउवाले गृहका सहसचिवको संयोजकत्वमा अनुसन्धान गर्ने निर्णय मन्त्रिपरिषद्बाट लिएका हुन् ।
नाम्खामा सीमा विवादको विषय उठेपछि शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले चासो जनाउँदै नेपालसँग कुनै पनि सीमा विवाद नरहेको दाबी गरेको थियो ।
त्यसको भोलिपल्ट शनिबार पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनसँग सीमा विवाद नरहेको बताएका थिए ।
तपाईको प्रतिक्रिया