भारतीय प्रधानमन्त्री मोदीको स्वाभिमानमा आँच आउने क्रियाकलाप नगर्न गृह मन्त्रालयको चेतावनी

समाचार

काठमाडौं, २० भाद्र । गृहमन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

मित्र राष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारवाही गरिने चेतावनी गृहले दिएको छ ।

विज्ञप्तिमा भारतीय प्रधानमन्त्री मोदीको नाम उल्लेख गरिएको छैन । यद्यपि, दुई दिनअघि काठमाडौंमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले मोदीको पुत्ला जलाएको सन्दर्भमा यो विज्ञप्ति जारी गरिएको बुझिएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’

‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ’– विज्ञप्तीमा भनिएको छ ।

मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिदै आएको भन्दै भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता सम्वाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने गृहको भनाई छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ