गौर, २३ भाद्र । युरिया मल उपलब्ध गराउन तथा किसानलाई पेन्सनको माग गर्दै रौतहटमा ट्याक्टर ¥यालीसहित प्रदर्शन गरिएको छ ।
आईटी आर्मीको किसान मोर्चाले बुधबार जिल्लाको विभिन्न स्थानबाट आएका हजारौँ ट्याक्टर रौतहटको मध्यभाग गरुडामा जम्मा भई सदरमुकाम गौरसम्म प्रदर्शन गरेका छन् ।
खेतीको मुल समयमा युरिया मलको अभाव हुने भएकोले किसानलाई हुने समस्या समाधान गर्न युरिया लगायतका मलखाद अविलम्ब उपलब्ध गराउन माग गर्दै प्रर्दशन गरिएको जनाइएको छ ।
प्रदर्शनकारीले किसानलाई सम्मान गर्दै किसानलाई पेन्सनको व्यवस्था गर्न, किसानलाई पर्याप्त र सहज ऋणको व्यवस्था गर्न, कृषि बिमा लागु गर्न, ट्याक्टरलाई लाग्ने सम्पूर्ण कर खारेज गर्न माग राखेका छन् । उनीहरुले दलाल पुँजीवादी व्यवस्था खारेज गरी किसान मजदुरको राज्य व्यवस्था लागु गर्न नाराबाजी गरेका थिए ।
प्रथम चरणको किसान संघर्षको कार्यक्रमको तहत आज ट्याक्टर ¥याली निकालिएको र माग पुरा गराउन लगातार संघर्ष जारी राख्ने पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहाले बताए । उनले किसानका मागहरु सम्बोधन नभएको खण्डमा रौतहटमा मात्र नभई देशभर संघर्ष गर्ने बताए ।
ट्याक्टर ¥याली आयोजना आईटी आर्मीको किसान मोर्चाले भाद्र २७ गते प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने, भाद्र ३० गते मल उपलब्ध गराउने स्थानीय तहको सहकारी डिपो घेराउ गर्ने, असोज १ गते साल्ट ट्रेडिंग कर्पोरेसन र कृषि सामग्री कम्पनिको कार्यालयको घेराउ गर्ने तथा असोज ५ गते पहिलो चरणको संघर्षको कार्यक्रमको समीक्षा गरी दोस्रो चरणको संघर्षको घोषणा गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया