जनकपुरमा सहिद गेट निर्माणमा अनियमितता

समाचार

जनकपुरधाम, २३ भाद्र । जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधाम नगरको प्रवेशद्वारमा सहिद गेट निर्माणका क्रममा अनियमितता गरेको तथ्य प्रकाशमा आएको हो ।

जनकपुरमा मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर निधन भएकाहरुको नाममा सहिद गेट निर्माण भइरहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले निर्माणाधीन सहिद गेटको टेण्डर प्रक्रियामै अनियमितता गरेको पाइएको छ ।

सहिद गेट निर्माणका लागि २०७६ माघ १० मा पहिलो पटक ३० दिने सूचनासहित टेण्डर आह्वान गरिएको थियो । जसमा रविन्द्र कन्स्ट्रक्सन प्रालिको प्रस्तावमात्रै परेको थियो ।

तर अनुभव सम्बन्धी कागजात नक्कली रहेको प्रमाणितपछि ठेक्का अस्वीकृत गरिएको थियो । त्यसपछि २०७६ फागुन १८ मा १५ दिने सूचना पुनः आह्वान गरियो ।

जसमा गौरी पार्वती साप जेभीको प्रस्ताव परेको थियो । ४ करोड २८ लाख ७० हजार ४ सय ६२ रुपैयाँ अनुमानित लागत गरिएकोमा १.०५ प्रतिशत घटाएर अर्थात् ४ करोड ८ लाख ८ हजार ५३ रुपैयाँमा प्रस्ताव स्वीकृत गरिएको तर बिना प्रतिस्पर्धा प्रस्तावकर्तालाई ठेक्का उपलब्ध गराएको पाइएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

२०७७ साल असार २० मा शिलान्यास गरिएको सो सहिद गेट निर्माणमा आर्थिक वर्ष ०७६/०७७ मा ४४ लाख ७७ हजार ७ सय २ रुपैयाँ र आर्थिक वर्ष ०७७/०७८ मा २ करोड बजेट छुट्याइएकोमा १ करोड ३२ लाख ३२ हजार ४ सय २ रुपैयाँ गत जेठ महिनासम्ममा खर्च गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ