प्रदेश २ मा एमालेभन्दा नेकपा एकीकृत ठूलो 

समाचार

जनकपुरधाम, २४ भाद्र । एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीमा ५४ जना प्रदेश सभासद समाहित भएका छन् ।

प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिले नेकपा एमालेबाट निर्वाचित ५४ जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

सात प्रदेशमा एमालेबाट निर्वाचित दुई सय ३३ प्रदेशसभा सदस्यमध्ये पूर्वप्रधानमन्त्री माधव नेपाललाई ५४ जनाले साथ दिएका छन् । सुदूरपश्चिम र प्रदेश २ मा नेकपा समाजवादी एमालेभन्दा ठूलो दल भएको छ ।  

संघीय संसदमा ३० जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन् । तर प्रदेशसभामा भने ५४ जना पुगेका हुन् । माधव नेपालले सुदूरपश्चिम, प्रदेश २, बागमतीमा धेरै सांसद लगेका छन् ।

सुदूरपश्चिम प्रदेशमा १४ जना सांसद पुगेपछि त्यहाँ सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश २ मा पनि ठूलो दल बनेको छ । गण्डकी प्रदेशमा माधव नेपालसँग एकजना पनि प्रदेश सांसद गएनन् भने लुम्बिनीमा भने एकजनाले साथ दिएका छन् ।

एमालेबाट विभाजित नेकपा (एकीकृत) प्रदेश २ र सुदूरपश्चिममा एमालेबाट ठूलो दल बनेको हो । बागमती र प्रदेश १ मा एमालेको सरकार ढाल्न पर्याप्त संख्या बनाएको छ ।  

प्रदेश १ मा एमालेका ५१ जना सांसद थिए । पार्टी विभाजनपछि नेकपा एकीकृतमा १० जना गएका छन् । प्रदेश २ मा प्रदेशसभातर्फ एमालेलाई ठूलो क्षति भएको छ । माधव नेपालले नेतृत्व गरेको सो पार्टीमा १३ जना सांसद गएपछि एमालेमा ८ जनामात्र रहेका छन् ।  

बागमती प्रदेशमा ५६ जनामध्ये १३ जना प्रदेशसभा सदस्यले नेकपा एकीकृतलाई साथ दिएका छन् । गण्डकी प्रदेशसभामा २७ जना सांसद रहेको एमालेमै रहेका छन् ।

नेकपा एमालेका सबैभन्दा धेरै स्थायी कमिटी सदस्य रहेको लुम्बिनीमा धेरै जनप्रतिनिधि र नेता कार्यकर्ताले एमालेमै रहेका छन् । कर्णालीमा प्रकाश ज्वालालगायत चारजनाले फ्लोर क्रस गरेर सांसद पद गुमाइसकेका छन् ।

थप तीनजनाले विभाजनको पक्षमा उभिएका कारण एमालेको सांसद संख्या १३ मात्रै रहेको छ । एमालेका २५ जना प्रदेशसभा सदस्यमध्ये १४ जनाले नेकपा एकीकृत रोजेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ