जनकपुरधाम, २४ भाद्र । प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि जसपा फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमाले फुटेर बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेशसभामा क्रमशः तेस्रो र चौथो ठूलो दल बनेका छन् ।
पार्टी विभाजनअघि प्रदेशसभामा जनता समाजवादी पार्टीसँग ५५ जना सांसद थिए । त्यस्तै नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र नेपाल संघीय समाजवादी पार्टीका १ जना सांसद थिए ।
पार्टी विभाजनपछि जसपाबाट १६ जना प्रदेशसभा सदस्यले महन्थ ठाकुरको लोसपा रोजेका छन् । यस्तै एमालेका १३ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा (एस) रोजेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
आयोगले जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्न समय दिएको थियो । थप दुई वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको हो ।
अब प्रदेश २ को प्रदेशसभामा जसपा ३९ जना प्रदेशसभा सदस्यसहित सबैभन्दा ठूलो दलको रुपमा कायमै रहेको छ । तेस्रो दलको रुपमा रहेको कांग्रेस एमाले र जसपा विभाजन पश्चात १९ जना प्रदेशसभा सदस्यसहित दोस्रो दल बनेको छ ।
त्यस्तै नवगठित पार्टी लोसपा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो दल बनेको छ भने नेकपा एमालेबाट फुटेर बनेको दल नेकपा (एस) चौथो ठूलो दल बनेको छ । पार्टी विभाजनअघि दोस्रो ठूलो दलको रुपमा रहेको एमाले अब ८ जना प्रदेशसभा सदस्यमा सीमित भएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रसँग समेत ८ जना सांसद रहेका छन् भने नेपाल संघीय समाजवादी पार्टीसँग १ जना प्रदेश सांसद रहेका छन् ।
प्रदेश सरकार गठन भएपछि मधेशवादी दल राजपा र समाजवादी पार्टी नेतृत्वमा प्रदेश २ मा सरकार बनेको थियो । पछि पार्टी एकता भएपछि जसपाको नेतृत्वमा सरकार रहेको थियो भने बाँकी दल विपक्षमा रहेका थियो ।
तर पार्टी विभाजन पश्चात अहिले जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार रहेको छ भने नयाँ दल नेकपा (एस)समेत सरकारमा जाने तयारीमा छ ।
प्रदेश २ को विपक्षमा अहिले नेकपा एमाले रहेको छ भने लोसपाले सरकारबाट आफ्नो समर्थन फिर्ता लिने जनाएको छ ।
तपाईको प्रतिक्रिया