बारा, २४ भाद्र । राष्ट्रपति चुरे—तराई मधेश संरक्षण विकास समितिका भूगर्वविद् प्रेमनाथ पौडेलले चुरे संरक्षित क्षेत्रमा नदीजन्य साम्रगी उत्खननका लागि एक्जाभेक्टर प्रयोग गर्न नमिल्ने बताएका छन् ।
निजगढ नगरपालिकाले निषेधित तथा संरक्षितका खोलाहरुमा ढुंगा, गिटी, बालुवा उत्खनन तथा बिक्रीका लागि ठेक्का लगाएपछि स्थलगतरूपमा अनुगमनका गर्न आएका भूगर्वविद् पौडेलले चुरे संरक्षण क्षेत्रका खोलाहरुमा ढुंगा, गिटी बालुवा निकाल्न एक्जाभेक्टर प्रयोग गर्न नमिल्ने स्पष्ट पारेका हुन् ।
राष्ट्रपति चुरे—तराई मधेश संरक्षण समितिको प्राविधिक टोलीसहित नगरप्रमुख, उपप्रमुख, स्थानीय प्रशासनका प्रमुखहरुको जम्बो टोलीले निजगढ नगरपालिकाले ठेक्का लगाएको खोलाहरुको अनुगमन गरेको थियो ।
निजगढ नगरपालिकाले बकैया, बगर, धन्सार, शक्ती, लाल र भक्तलाल खोलाको माथिल्लो तटमा उत्खननका लागि झण्डै १३ करोड मुल्य तोकेर ठेक्का सार्वजनिक गरेको छ । सम्बन्धित कार्यालयको सहमति नै नलिई चुरे र वन क्षेत्रमा आईई गरेर खोला ठेक्का लगाएपछि नगरपालिका र वन कार्यालयबीच विवाद देखिएको छ ।
अनुगमन पश्चात भूगर्वविद् पौडेलले चुरेको मापदण्ड भित्र बसेर स्थलगत रुपमा लिइएको तथ्याकंलाई केलाएर मात्र ढुंगा, गिटी, वालुवा निकाल्न मिल्ने–नमिल्ने विषयमा निर्णय गरिने जनाए ।
सरकारले २०७३ असार २ गते बारासहित देशभरका ३६ जिल्लालाई चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गरेको छ । जसमध्ये बाराको उत्तरी भेगको २० हजार ५ सय २६ हेक्टर भूभाग चुरे संरक्षित क्षेत्रभित्र पर्दछ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले सन् २०१५ सार्वजनिक गरेको प्रतिवेदनमा निजगढ नगरपालिकाका १० ओटा वडाहरु संरक्षित क्षेत्रभित्र पर्दछ ।
हाल नगरपालिकाले सोही संरक्षित क्षेत्रका आधा दर्जन खोलाहरुको आईई गरेर ढुंगा, गिटी, वालुवा निकाल्न ठेक्का लगाएको छ । भुगर्वविद् पौडेलले अनुगमन टोलीको प्रतिवेदन नआउँदासम्म ठेक्का प्रकिया अगाडि नबढ्ने स्पष्ट पारेका छन् ।
तपाईको प्रतिक्रिया