जचुकालीको पावर हाउस र छापाखाना पुनः सञ्चालन गर्ने तयारी

समाचार

जनकपुरधाम, २४ भाद्र । लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को पावर हाउस र छापाखाना पुनः सञ्चालन गर्ने प्रदेश २ सरकारले तयारी सुरु गरेको छ ।

जचुकाली बन्द भएसँगै प्रयोगविहीन भएको पावर हाउस र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पहल थालेको हो ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्राविधिक, मन्त्रालयका कर्मचारीसहित केही दिन अघि पावर हाउस र छापाखानाको निरीक्षण गरेका थिए । निरीक्षणपछि प्राविधिकहरूले सामान्य मर्मत सम्भार गरे सञ्चालन गर्न सकिने बताएका थिए । 

जचुकालीको पावर हाउसमा पाँचवटा पावरफूल जेनरेटर छन् । उक्त पावर हाउस प्रदेश सरकारले सञ्चालन गर्न लागेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले बताए ।

त्यसैगरी जचुकालीको रंगीन छापाखाना लामो समयदेखि प्रयोगविहीन रहेकाले सञ्चालन गर्न दिन संघीय सरकारसँग आग्रह गरिएको उनले बताए ।

पावर हाउस र छापाखाना लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघको उद्योग मन्त्रालयमा पत्रचार गरिसकेको मन्त्री साहले बताए ।

प्रदेश सरकारको आफ्ना छापाखाना नहुँदा बर्सेनी करोडौं रुपैयाँ छपाइमा खर्च गर्दै आएको छ । आफ्नै छापाखाना भए उक्त खर्च कटौती हुने मन्त्री साहले बताउँछन् । 

रुस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०२१ पुस २९ मा तत्कालीन राजा महेन्द्र शाहले कारखाना उद्घाटन गरेका थिए ।

कारखाना २०७० असार २० देखि बन्द छ । यद्यपि यहाँको उत्पादन भने २०६८ चैत्रदेखि नै बन्द भएको हो । सोभियत संघको अनुदान तथा तत्कालीन अर्थमन्त्री समेत रहेका समाजसेवी रामनारायण मिश्रको प्रयासबाट २०१७ सालदेखि जचुकाली निर्माण कार्य सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ