मानव सेवा आश्रमलाई आत्मनिर्भर बन्नुपर्छ : नगर प्रमुख सरावगी

समाचार

वीरगञ्ज, २४ भाद्र । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मानव सेवा आश्रम जस्ता संस्था आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि कसरी आय आर्जन गर्न सकिन्छ भनेर सोच्नुपर्ने उनको भनाई छ ।

वीरगञ्जमा बनाउन लागिएको आश्रम शाखाको भवनको प्रारम्भिक खाका प्रस्तुतीकरण कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

‘मानव सेवा आश्रम मानसिक रुपमा अशक्तलाई राख्ने ठाउँ हो । दैनिक आवश्यकता परिपूर्तिका लागि स्रोतको अभाव छ, कसरी आम्दानी गरेर आत्मनिर्भर बन्न सकिन्छ सोच्नुपर्छ ।’

उनले भने ‘आश्रम परिसरमा पोखरी बनाएर माछा पाल्ने हो वा इको पार्क बनाएर पर्यटकलाई आकर्षित गर्न पो सकिन्छ कि जसरी हुन्छ आर्थिक स्रोत बढाउनमा ध्यान दिनुपर्छ ।’

महानगरपालिकाले भोजपुरी प्रतिष्ठानको भवन बनाउँदा भूँई तलामा पसल राख्ने व्यवस्था मिलाएको जानकारी उनले दिए । नगर प्रमुख सरावगीले संघ, प्रदेश र स्थानीय सरकार मिलेर आश्रम भवन बनाउनुपर्नेमा जोड दिए ।

वीरगञ्ज महानगरकै सभाहलमा आश्रम शाखाको प्रस्तावित भवनको प्रारम्भिक खाका प्रस्तुत गरिएको थियो । श्रृंखला खतिवडाको गाथाले भवनको डिजाईनिङको काम गरिरहेको छ ।

वीरगञ्ज महानगरपालिकाले मानव सेवा आश्रम शाखाका लागि १८ कठ्ठा जमिन दिनुको साथै भवन बनाउन २५ लाख रुपैयाँ समेत प्रदान गरिसकेको छ ।

रेम्ड अर्थ प्रविधिबाट डिजाईन गरिएको भवन बनाउन २० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

भोजपुरी कला सँस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र मिलाएर भवन बनाउने ईन्जिनियरहरुले बताएका छन् । बाँस लगायत स्थानीय स्रोत साधनको बढी प्रयोग गर्ने उद्देश्य राखिएको छ ।

२०७४ जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा ५५ जना आश्रित छन् । कुनैपनि विदेशी दार्त निकायबाट शर्त सहितको अनुदान नलिने घोषणा मानव सेवा आश्रमले गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ