काठमाडौं, २९ भाद्र । महन्थ ठाकुरलाई आफ्नो आदर्श मान्दै विद्यार्थीबाट राजनीतिक यात्रा सुरु गरेका युवा नेता मनिष मिश्र अब मूलधारको राजनीतिमा आउने घोषणा गरेका छन् ।
विगत १४ वर्षदेखि नेपाली विद्यार्थी राजनीतिमा एउटा परिचित र क्रान्तिकारी छवि बनाएका छन् । उनी अब विद्यार्थी राजनीतिबाट बिदा लिने निष्कर्षमा पुगेका छन् ।
‘लामो समयसम्म विद्यार्थी राजनीतिको नेतृत्व गर्दै आएको छु, अब नेतृत्व हस्तान्तरण गर्दै अरुलाई मौका दिन चाहन्छु ।’ मिश्रले मधेशवाणीसँग भने, ‘मैले नेतृत्व गर्दै आएको विद्यार्थी संगठनका अन्य साथीहरुलाई मौका दिन चाहन्छु ।’
युवाहरुले अब मूलधारको राजनीतिमा सक्रिय सहभागिता भई नेतृत्वका लागि अग्रसरता देखाउनुपर्ने बताएका छन् ।
युवाहरु राजनीतिक परिवर्तनको सम्वाहक रहेकोले परिवर्तनका लागि आफै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
उनी अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट विद्यार्थी संगठनको अध्यक्षको भूमिकामा छन् ।
यस्तो छ युवा नेता मिश्रको राजनीतिक यात्रा
लोकतान्त्रिक सिद्धान्तलाई स्वीकार गरी राजनीति थालेका मनिष कुमार मिश्रको परिवारिक पृष्ठभूमि नेपाली काँग्रेसको थियो । आफ्नै क्षेत्रका तत्कालीन निर्वाचित सांसद महन्थ ठाकुरसँग परिवारिक सम्बन्ध र बुवा उदय नारायण मिश्र तत्कालीन काँग्रेसका सक्रिय कार्यकर्ता भएको आधारमा महन्थ ठाकुरसँग मनिषको सम्बन्ध बढ्दै गयो ।
महन्थ ठाकुर २०६४ सालको काँग्रेस सरकारको मन्त्रीको रूपमा रहदा स्नातक अध्ययनरत मिश्र नजिक भएर कार्य गर्दै आएका थिए । जब २०६४ पौष १३ गते महन्थ ठाकुर लगायत बिभिन्न पार्टीका नेताहरूद्वारा तत्कालीन आ–आफ्नो पार्टी र पद परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरीयो त्यसबेला मनिष पनि सँगसँगै आफूलाई स्वघोषित तमलोपाको सदस्य बने ।
पछि तमलोपाको सदस्यता नं.–२ पार्टी अध्यक्ष महन्थ ठाकुरबाट ग्रहण गरे । मिश्र शंकरदेव क्याम्पसमा स्नातक अध्ययन गर्दै गरेको अवस्था रहेको कारण तमलोपाको विद्यार्थी संगठनको शुरूवात गर्ने जिममेवारी पाए ।
शुरूवात समितिको सह–संयोजकको जिम्मेवारीमा बसे । त्यसपछि अनवरत राजनीतिक यात्रासँगै विद्यार्थी संगठनलाई मजबुत पार्न दिनरात मेहनत गरिराखे र समय सँगसँगै पदीय जिम्मेवारी पनि परिवर्तन हुँदै गए ।
तमलोपाबाट राजपा त्यसपछि जसपा र हाल लोसपामा सक्रिय छन् ।
२०७० सालको आम निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रदेश नं.–२ को प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फबाट उम्मेदवार रहेका उनी हालसम्म विद्यार्थी संगठनको जिम्मेवारी समाहल्दै आएका हुन् ।
एमबिएसम्मको शिक्षा हासिल गरेका मिश्र स्थानीयदेखि केन्द्रसम्म सक्रिय रहदै आएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग आबद्ध मिश्र लामो समय विद्यार्थी राजनितिपछि अब उनी स्वयंले विद्यार्थी संगठनबाट बिदा लिने बताउँदै पार्टीको मूलधार राजनीतिमा सक्रिय रहने बताएका छन् ।
तपाईको प्रतिक्रिया