कोरोनाबाट रुपन्देहीका पत्रकार चौहानको मृत्यु

समाचार

रुपन्देही, ३० भाद्र । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य ५३ वर्षीय विन्दुकुमार चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमणको लक्षण देखिएपछि होम आइसोलेसनमा रही कोरोना ठीक भैसकेका पत्रकार चौहानको स्वास्थ्यमा एक्कासी समस्या आएपछि ५ दिनअघि भैरहवास्थित युसिएम अस्पतालमा भर्ना गरिएको थियो । 

उपचारका क्रममा फोक्सोमा समस्या आई निमोनिया देखिएका चौहानको उपचाररत अवस्थामा मंगलबार राति २ः०० बजे निधन भएको हो । स्वर्गीय चौहानका श्रीमती, तीन छोरी र चार छोरा छन् ।  

दुई दशकदेखि पत्रकारितामा सक्रिय चौहानले बुटवलस्थित लुम्बिनी दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । २०६२/०६३ को जनआन्दोलनमा पत्रकारिताको माध्यमबाट सक्रिय भूमिका निर्वाह गरेका चौहान पछिल्लो समय एबीसी टेलिभिजन र बुटवल टुडेमा कार्यरत थिए । 

यसैबीच, महासंघले स्वर्गीय पत्रकार चौहानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ ।

कोरोनाकै कारण हालसम्म २५ जना पत्रकारको निधन भएको छ भने एक हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । 

कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गरेको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ