जनमतको केन्द्रीय समिति बैठक सम्पन्न, संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने

समाचार

जनकपुरधाम, ३१ भाद्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको दुईदिने केन्द्रीय समितिको बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष डा. राउतको अध्यक्षतामा बसेको बैठकले असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

साथै, जनमतले मंसिर १० गते रंगभेदविरुद्धको दिवस पनि मनाउने निर्णय गरेको हो ।

सो बैठकमा संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धमा छलफल भएको छ । साथै आगामी चुनावबाट मधेशको झापादेखि कञ्चनपुरसम्म आफ्नो कब्जा जमाउने रणनीतिबारे पनि छलफल गरिएको जनमतनिकट जनमत प्रेस संघका अध्यक्ष बीपी साहले जानकारी दिएका छन् । 

डा.राउत मूलधारको राजनीतिमा आएपछि मधेशका २२ वटै जिल्लामा आफ्नो पार्टीको संगठन विस्तार, नेता कार्यकर्तालाई प्रशिक्षण र जनताको घरदैलोसम्म पुगिरहेका छन् । 

उनका अनुसार आउने चुनावलाई लक्षित गरेर रणनीतिहरुबाट गहन छलफल भएको र त्यहीअनुरुप केन्द्रीय सदस्यलाई प्रशिक्षण समेत दिइएको छ । 

बैठकमा सचिवालयका पदाधिकारी, पार्टीका केन्द्रीय सदस्यहरु, मोर्चाका प्रमुखहरुसहित २ सयभन्दा बढीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ