काठमाडौं, ३१ भाद्र । मिथिला संस्कृति अध्ययन केन्द्र निर्माणका लागि मैथिल ब्राह्मण महासभाले ‘एक घर एक ईट्टा’ अभियान सञ्चालनमा ल्याएको छ ।
२६ जिल्लाका ब्राह्मण समुदायको हरेक घरबाट एक घर एक ईट्टा संकलन गरी जनकपुरधाम उपमहानगरपालिकामा मिथिला संस्कृति अध्ययन केन्द्र निर्माण गर्ने अभियान थालिएको ब्राह्मण महासभाका केन्द्रीय अध्यक्ष भगवान झाले बताए ।
प्रदेशसभा सदस्य परमेश्वर साहको संसदीय कोषबाट २५ लाख तथा जनकपुरधाम उपमहानगरपालिकाको ५ लाख बजेटबाट अहिले केन्द्रको फाउन्डेशनको काम भएको छ ।
प्रदेश सरकारले केन्द्र स्थापनामा सहयोग गर्ने भनिए पनि अहिले आएर पछि हटेकाले आफूहरु आ–आफनै प्रयासबाट केन्द्र निर्माणमा लागेको झाले बताए ।
२६ जिल्लामा लगातार २६ वटा प्रत्येक शनिवार कुनै एक स्थानमा सत्यनारायण भगवानको पूजापाठसहित बैठक गरेर एक घर एक ईट्टाको सहयोग संकलन गर्ने कार्यक्रम रहेको झाले बताए ।
अभियानको असोज २ गते शनिवार महोतरीको पिपराबाट थालनी हुने समेत उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया