प्रदेश २ प्रदेशसभाको बैठक अझै अनिश्चित

समाचार

जनकपुरधाम, १ असोज । केन्द्रमा भएको राजनीतिक दलहरूको आन्तरिक किचलो र विवादले प्रदेश २ को प्रदेशसभा बैठक दुई महिनादेखि बस्न सकेको छैन । बैठक कहिले बस्ने अझै अनिश्चितजस्तै बनेको छ ।

प्रदेशमा सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजनका कारण प्रदेशसभाको बैठक २ महिनायता बस्न सकेको छैन ।

असारमा सरकारले प्रदेशसभाबाट बजेट पारित गरेपछि छैटौं अधिवेशन अन्त्य गरिएको थियो तर सातौं अधिवेशनको अहिलेसम्म कुनै सुरसार छैन ।

लामो समयसम्म प्रदेशसभा बैठक नबस्दा संसदमाथि नै प्रश्न उठेको सत्तारूढ दलकै सांसदहरू बताउँछन् ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बैठक चाँडै बोलाउन सरकारले छलफल अघि बढाएको बताए । उनले दसैंअघि नै संसदको सातौं अधिवेशन आह्वान गर्ने तयारी भएको दाबी गरे ।

त्यसैगरी प्रदेशसभाका विभिन्न विषयगत संसदीय समितिसमेत अहिले सभापतिविहीन छन् । सार्वजनिक लेखा समिति सुरुदेखि नै सभापतिविहीन छ भने पछिल्लो समय कृषि र प्राकृतिक स्रोत समिति पनि सभापतिविहीन छ ।

अहिले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । यसअघि ५ दल थिए । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गरी दुई नयाँ दल अस्तित्वमा आएका छन् ।

जसपा विभाजित भएसँगै महन्थ ठाकुर नेतृत्वमाको लोसपामा १६ जना प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । त्यस्तै एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा १३ जना प्रदेश प्रदेशसभा सदस्यले सनाखत गरेका छन् ।

अहिले प्रदेशसभामा जसपाका ३९, नेपाली कांग्रेसका १९, लोसपाका १६, एकीकृत समाजवादीका १३, नेकपा माओवादी केन्द्रका ८, एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

नवगठित एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुने भएको छ । संघीय सरकारमा बनेको समीकरणजस्तै प्रदेश २ मा पनि बनाइने दलहरूबीच सहमति भएको छ । अहिले जसपाको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी भइसकेका छन् ।

एकीकृत समाजवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयको संख्या पनि बढाउने तयारी गरिरहेका छन् । करिब दुई महिनाअघि कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन पनि मन्त्रालयको संख्या थपिएको थियो ।

एकीकृत समाजवादीका सांसद शत्रुधन महतोले संसदीय दलको विधान बनाएपछि सरकारमा जाने विषयमा छलफल हुने बताए । एकीकृत समाजवादीलाई २ मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भइरहेको छ । हाल विभिन्न ६ वटा मन्त्रालयलाई टुक्राएर मन्त्रालयको संख्या १० पु¥याइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ