जनकपुरधाम, ३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान दिवसलाई कालो दिनका रूपमा मनाएको छ ।
मधेशी जनताको हक, अधिकार तथा भावनाविपरीत आएको संविधान संशोधन नभएसम्म लोसपाले संविधान दिवसलाई कालो दिनका रूपमा लिने निर्णय गरेको छ ।
मधेशी जनताको रक्तपातबाटर आएको संविधान आफूहरूलाई मान्य नहुने भन्दै लोसपाले आइतबार मधेसका जिल्लाहरूका सदुरमुकाममा प्रदर्शन गरेको छ ।
लोसपाका नेता तथा कार्यकताहरूले ‘आशिन तीन कारी दिन’ लेखिएका ब्यानरसहित जनकपुर बजारमा प्रदर्शन गरेका छन् ।
स्थानीय जनकचोकबाट निकालिएको विरोध जुलुस शिवचोक, भानुचोक, कमदचोक, शिवचोक हुदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा लोसपाका नेताहरूले संविधानलाई संशोधन गरी मधेसी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिमलगायतका सामुदायलाई जनसंख्या र समावेशी अधिकार संविधानमा सुनिश्चत नभएसम्म आफूहरूले यस संविधानलाई स्वीकार नगर्ने धारणा राखेका थिए ।
यता, प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले भने संविधान दिवसमा मौन बस्ने र कुनै प्रकारको कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
संविधानभित्रै रहेर सरकारको नेतृत्व गरिरहेको तर त्यसभित्र रहेका त्रुटिहरू नसच्चिएसम्म संविधान दिवस नमनाउने जसपाका नेताहरूको भनाइ छ । – न्यज कारखाना
तपाईको प्रतिक्रिया