काठमाडौं, ४ असोज । कांग्रेसले १४औं महाधिवेशनका लागि धनुषा र कैलाली जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । विवाद समाधान समितिले यसका लागि ९ बुँदे निर्णय गरेको छ ।
उक्त निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पनि बाँडफाँट भएको छ ।
नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले सोमबार दुई जिल्लाको विवाद टुंगो लगाएको हो । समितिमा नेता रमेश लेखक र मीनेन्द्र रिजाल सदस्य छन् ।
निर्णयअनुसार धनुषा क्षेत्र नम्बर ४ मा रहेको बटेश्वर नगरपालिका–५ र क्षिरेश्वर नगरपालिका–१० का नयाँ क्रियाशील सदस्यले १४औं महाधिवेशनमा भाग लिन नपाउने भएका छन् । यी वडामा पुरानै सदस्यहरूबाट महाधिवेशन हुनेछ ।
यस्तै मिथिला बिहारी नगरपालिकाका वडा नम्बर ६ र १०, लक्ष्मिनिया गाउँपालिकाका वडा नम्बर १ र २ मा वडा सभापतिहरूले सिफारिस गरेको नयाँ क्रियाशील सदस्यतालाई मान्यता दिइएको छ ।
क्षिरेश्वर–७, लक्ष्मिनियाका ३, ४, ५, ६ तथा मिथिला बिहारी–२ का साथै जनकपुर उपमहानगरपालिका–१९ मा फर्जी भनिएका क्रियाशील सदस्यहरूलाई हटाएर वडा सभापतिहरूले सिफारिस गरेकाले मात्र १४औं महाधिवेशनमा भाग लिन पाउनेछन् ।
धनुषाको क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता विवाद थियो । यसैलाई लिएर चन्द्रमोहन यादवसहितका नेता केन्द्रीय कार्यालयमा अनशन बसेका थिए । १३औं महाधिवेशनमा यो क्षेत्रलाई महाधिवेशनमा भाग लिन वञ्चित गरिएको थियो ।
यता, कैलाली क्षेत्र नम्बर १ को टीकापुर नगरपालिका–१ मा भने १३ औं महाधिवेशनमा सहभागी क्रियाशील सदस्यले मात्र १४ औं महाधिवेशनमा भाग लिन पाउने भएका छन् ।
तपाईको प्रतिक्रिया