जनगणना फाराममा थारु लेखाउन आग्रह

समाचार

काठमाडौं, ५ असोज । थारु आयोगले थारु बहुल प्रदेशमा थारुभाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न माग गरेको छ । सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगले सो माग गरेको हो ।

थारुभाषालाई सरकारी कामकाजको भाषा, राष्ट्रिय जनगणना र समावेशीता सम्बन्धी छलफल कार्यक्रममा आयोगले २०६८ सालको जनगणनामा थारु समुदायको सही तथ्याङ्क नआएको भन्दै २०७८ सालको जनगणनामा वास्तविक तथ्याङ्को माग गर्नुभयो । गणकहरुले घरदैलोमा फाराम लिएर आउँदा सबैलाई थरको पछाडि अनिवार्य ‘थारु’ लेख्न सुझाएको छ ।

आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारुभित्र विभिन्न उपथर रहेको र सोअनुसार फाराम भर्दा थारु र गैरथारु छुट्याउन समस्या हुनेगरेको बताए ।

थारु समुदायले चौधरी लेखाउँदा मरवाडी र अन्य समुदायले पनि चौधरी लेखाउने गरेको उनले बताए । कुश्मी, बडायक, महतो, राजवंशी लगायतको थर लेख्दा थारुको यकिन तथ्याङ्क आउन समस्या हुने गरेको उहाँको भनाई छ ।

भाषा आयोगका विज्ञ सल्लाहकार प्रा.डा. दानराज रोग्मीले भाषा नै पहिचानको आधार भएकाले सबै समुदायको चासो बढेको बताए ।

भाषा आयोगले प्रदेशस्तरमा भदौ २१ गते ११ वटा भाषालाई प्रदेशमा सरकारी कामकाजी भाषा बनाउनेगरी सरकारलाई सिफारिस गर्दा सबैको चासो देखिएको उनले बताए ।

थारुभाषा चौथो ठूलो भाषा भएको र वक्तासंख्या पनि अधिक भएकाले भाषा आयोगले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा सिफारिस गरेको उनको भनाइ छ ।

प्रदेश २ र प्रदेश १ मा पनि थारु भाषा वक्ता ३ प्रतिशत बढी रहेकाले त्यहाँ पनि थारुभाषालाई कामकाजी भाषा बनाउनुपर्ने माग बढ्न लागेको उनले बताए । तर आयोगले २०६८ को जनसङ्ख्या र वक्ताको आधारमा भाषा सिफारिस गरेको उनले प्रष्ट पारे ।

थारु आयोगका सदस्य सुबोधसिंह थारुले भाषा नै मुख्य पहिचान भएकाले यसको संरक्षणमा सबैको ध्यान जान आवश्यक रहेको बताए ।

थारु आयोगले भाषा मानकीकरणमा पनि सहयोग गर्दैआएको र आगामी दिनमा थारुभाषा मानकीकरणको काम पनि सम्पन्न हुने उनले जानकारी दिए ।

राज्यको निकायमा अझै आरक्षणको रुपमा थारु कोटा छुट्याउन सरकारले आनाकानी गरिरहेकाले संविधानको व्यवस्थाअनुसार आरक्षण सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ छ ।

२०५८ सालको जनगणनाअनुसार थारु भाषाको वक्ता सङ्ख्या १३ लाख ३१ हजार ५४६ थियो ।

२०६८ मा आएर वक्ता जनसंख्या १५ लाख २९ हजार ८७५ पुगेको र २०७८ सालको जनगणनाको काम शुरु भएकाले केही समयपछि सही तथ्याङ्क आउने भाषाविज्ञ डा. रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ