मुसहर समूदायकी किशोरी साना व्यवसाय चलाउँदै

समाचार

राजविराज, ६ असोज । उमेर रहँदा विद्यालयको पढाईबाट बंचित रहनुका साथै जन्मदर्ता विहीनताको अवस्थामा रहेकी रिंकु सदाको जीवन फेरिएको छ । गाउँमै खाजा पसल संचालन गर्न थालेपछि मंजुश्री सहकारी संस्थामा उनले खाता समेत खोलेकी छिन् ।

सप्तरी जिल्लामा मुसहर समूदायमा रहेकी १५ देखि १८ बर्ष उमेरकी ९ सय ९६ किशोरीमा परिवर्तन देखिन थालेको छ ।

जीवन उपयोगी सीप र बित्तिय साक्षरताको कक्षामा समावेश भई साना व्यवसायमा हात हाल्ने किशोरीमध्येकै एक रिंकु पनि हो । उनको घर अग्निसाईर कृष्णासवरन गाउँपालिका ५ भिमारटोलमा छ ।

रिंकुले दैनिक बढीमा १५ सय रुपैया बराबरको खाजा आफ्नो पसलबाट बेच्ने गरेको बताइन् ।

व्यवसाय गर्न चाह्नेहरुलाई सिकाई केन्द्र संचालन गर्ने सहयोगी हातहरुको समूह(साहस नेपाल)ले आवश्यक समानहरु उपलब्ध गराउने गरेको परियोजनाको वित्तय सहजकर्ता सरिताकुमारी चौधरीले बताइन् ।

किशोरीहरु मध्ये धेरैले हाँस पालन, मोःमो चाउमिन खाजा पसल, किराना पसल, तरकारी पसल तथा अण्डा बिक्री केन्द्र संचालन गरिरहेकी छिन् । व्यवसाय संचालनका लागि किशोरीलाई थप व्यवसायिक तालिमहरु दिइएको छ ।

व्यवसाय संचालन गर्ने अधिकांश किशोरीहरुको बचत गर्ने खाता सहकारी संस्थाहरुमा खोलिएको छ । बित्तिय कारोबारमा जोडिएकी यी किशोरीहरु आफ्नो परिवारकी पहिलो ब्यक्ति हुन ।

अधिकांश मुसहर समूदाय बित्तिय कारोबार भन्दा बाहिर छन् अर्थात कुनै पनि बैंकमा उनीहरुको खाता छैन ।

सार्वजनिक जग्गामा छाप्रो बनाएर जीवनयापन गर्ने गर्ने यी समूदायलाई राज्यले अहिलेसम्म जग्गा उपलब्ध गराएको छैन ।

यस समूदायमा शिक्षाको अभाव टार्न र बालबिबाहको समस्या समाधान गर्न साना व्यवसायमा किशोरीहरुको सहभागिताले केही मद्दत पुगेको  सहास नेपालका जिल्ला संयोजक रमेश कुमार साहल बताए ।

उनले स्ट्रीट चाइल्ड अफ नेपालको साझेदारीमा मार्जिनलाइज्ड नो मोर परियोजना अन्तर्गत सप्तरी जिल्लाभित्र ९८ वटा सिकाई केन्द्र संचालनमा रहेको जानकारी दिए ।  

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ