पोखरा, ६ असोज । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई गण्डकी सरकारले पोखरामा न्यानो स्वागत गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको निमन्त्रणामा बुधबार पोखरा पुगेको मुख्यमन्त्री राउतलाई गण्डकी सरकारका पर्यटनमन्त्री मणिभद्र शर्माले विमानस्थलमा स्वागत गरेका थिए ।
मुख्यमन्त्री राउतको स्वागतमा पोखरा विमानस्थलमा पञ्चकन्यासहित पर्यटन व्यवसायीहरुको व्यापक उपस्थिति रहेको थियो ।
विमानस्थलबाट प्रदेश सरकारको मुख्यालय पुगेका मुख्यमन्त्री राउतलाई गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले स्वागत गरेका थिए ।
सो अवसरमा दुबै प्रदेश बिचको आपसी सम्बन्ध, प्रदेश २ ले अघि सारेको लोकप्रिय कार्यक्रमहरुबारे छलफल भएको मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र कुमार यादवले बताएका छन् ।
गण्डकी प्रदेश र प्रदेश २ बीच पर्यटकीय सम्बन्ध विस्तारका लागि जनकपुर–पोखरा उडान शुरु गराउन दुबै मुख्यमन्त्रीले सहकार्य गर्ने सहमति समेत गरेको यादवले बताए ।
मुख्यमन्त्री राउतले समकक्षी नेपालीलाई जनकपुर भ्रमणको निम्तोसमेत दिएका छन् ।
मुख्यमन्त्री राउतले पोखराको विभिन्न पर्यटकीयस्थलको भ्रमणसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया