प्रदेश २ र गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन गर्न सहमत

समाचार

काठमाडौं, ७ असोज । पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेश र प्रदेश २ बीच अन्तरप्रदेश समझदारी भएको छ । समझदारीमा पर्यटकीय गन्तव्यको पहिचान, सम्वद्र्धन र प्रचारप्रसार बढाउने, दुवै प्रदेशबीच सीधा हवाई सेवाको निरन्तरताका साथै जनकपुर–पोखराको हवाई सेवा विस्तारमा जोड दिइने छ ।

त्यस्तै धार्मिक, सांस्कृतिक, पुरातात्विक संस्कृतिको आदानप्रदानका साथै साहसिक खेल पर्यटनका सम्भावना बढाउने, जानकी मन्दिरदेखि त्रिवेणीधाम हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय सर्किटको प्रवद्र्धनमा जोड दिने र दुवै प्रदेशका सहकार्यका क्षेत्र पहिचान गरी कार्यान्वयनमा ल्याउने समझदारीमा उल्लेख छ ।

नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश २ को संयोजन एवं गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पोखरा भ्रमणमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा सो समझदारी भएको हो ।

भ्रमण टोलीसँग बिहीबार गरिएको आन्तरिक पर्यटन प्रवद्र्धन तथा अन्तरप्रदेश अनुभव आदानप्रदानको अन्तरक्रियात्मक कार्यक्रमपश्चात नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल र नाट्टा प्रदेश २ का अध्यक्ष मोहनप्रसाद शर्माले मुख्यमन्त्रीद्वयको रोहबरमा सो समझदारीमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री राउतले गण्डकी प्रदेशसँग पर्यटकीयलगायतका हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको जनाउँदै दुवै प्रदेशको हितका लागि एकताबद्ध प्रयास गर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ