इमरान खान, कपिलवस्तु, ९ असोज । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरस संक्रमणका कारण बन्द रहेका सबै सीमानाका खुलाउने सरकारले निर्णय गरे पनि सीमा वारपारमा सर्बसाधारण लगायत निजी सवारी साधन अझै उस्तै सास्ती व्यहोर्नुपरेको छ ।
मातहतका निकायमा सरकारको निर्देशन नआएको भन्दै सुरक्षाकर्मीले नाकामा पूर्ववत् व्यवहार गरिरहेका छन् ।
गत मंगलबार संघीय सरकारले सीमा नाका खुलाउने निर्णय सार्वजनिक गरेलगत्तै ओहोरदोहोर गर्नेको संख्या बढेको छ । तर, प्रहरीका अनुसार सानादेखि ठूला कुनै पनि सवारीसाधन आवतजावत गर्ने वातावरण बनेको छैन ।
भारतीय पर्यटक नेपाल आउने क्रम भने त्यति बाक्लो छैन । उनीहरू आएको खण्डमा प्रशासनको पत्रसहित आउने गरेको प्रहरीको भनाइ छ । नाकामा राखिएको स्वास्थ्य जाँच स्थानमा सामूहिक आवागमनलाई प्राथमिकतामै राखी जाँच्ने गरिएको छ ।
भारतीय नाकाबाट पारि जाने नेपालीका हकमा भने नागरिकता वा अन्य कुनै प्रमाणपत्र हेरी पठाउने गरिएको छ । नाका खोल्न नभई सहजीकरणको अनुमति पाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
‘पीसीआर रिपोर्ट नेगेटिभ, खोपको डबल डोज लगाएका मानिस पारिदेखि आउने गरेका छन्,’ उनले भने, ‘अन्य मापदण्ड पुरानै रहेको छ ।’ अहिले नै नाका खोलिहाल्ने निर्णय नगरिएको तिवारीले बताए ।
कपिलवस्तु जिल्लाका सिमा नाका पनि सञ्चालनमा आएका छैनन् । कृष्णनगर, मर्यादपुर र चाकलचौडाबाट सहज आवतजावत छैन । लुकीचोरी छेउछाउबाट सर्वसाधारण जनताहरु नाका वारपार गरिरहेका छन् ।
सर्बसाधारण जनता र निजी सवारीसाधनहरु नाका हुँदै चल्न पाएका छैनन् । ‘जिल्लाबाट कुनैपनि सूचना छैन,’ डंगरी बोर्डर आउट पोस्ट (बीओपी) मर्यादपुरका सशस्त्र प्रहरी निरीक्षक शंकरसिंह सिखले भने, ‘यहाँ पहिले जस्तो थियो त्यस्तै अहिले पनि उस्तै छ ।’
कृष्णनगर नाका मुलुकका १० ठूला भन्सार नाकामध्ये रहेको छ । तर, मालवाहक बाहेक अन्य सवारीसाधन यस नाकाबाट पनि अझ सञ्चाल नभएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए ।
नाका खोल्ने विषयमा गृहबाट कुनैपनि जानकारी नआएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले मध्यान्हलाई बताए ।
तपाईको प्रतिक्रिया