नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता

समाचार

विराटनगर, ९ असोज । भारतसँग खुला सीमा जोडिएका मोरङका सिमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सुरक्षा सक्रियता बढाइएको छ।

नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई लक्षित गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन एवं निरीक्षण थालेका छन् ।

चाडपर्वका बेला हुनसक्ने अवैध एवं अवाञ्छित गतिविधी रोक्न भारतसँग सीमा जोडिएका स्थानलाई प्राथमिकतामा राखेर आकस्मिक अनुगमन एवं निरीक्षण थालिएको जानकारी उनले दिए। दाहालका अनुसार सीमा क्षेत्रमा पछिल्लो समय विशेष सुरक्षा सतर्कता अपनाइएको छ ।

भारतसँग सोझो सम्पर्क स्थापित भएका ग्रामीण एवं शहरी क्षेत्रका सीमा नाकाको सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

नेपाल र सशस्त्र प्रहरीको सहयोगमा प्रजिअ दाहाल नेतृत्वको टोलीले मोरङको धनपालथान, रंगेली लगायतका विभिन्न नाकाको अनुगमन गरेको छ ।

चाडपर्वका बेला सीमा क्षेत्रमा बढ्नसक्ने मानवीय चहलपहललाई ख्याल गर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको उनले बताए ।

दाहालका अनुसार आयात निर्यातलाई चुस्त बनाउन एवं सीमा क्षेत्रमा देखिएका समस्याको समाधान गर्न भन्सार कार्यालय, नेपाल र सशस्त्र प्रहरी तथा राजनीतिक दल र सरोकारवालासँग पनि छलफल गरेर थप रणनीति तयार पारिने छ ।

सीमा नाका पूर्ण रूपमा खुला नभइसकेको अवस्थामा अव्यवस्थित आवतजावतलाई ख्याल गरेर कडाइ गर्दै सतर्कता अपनाइने जानकारी प्रजिअ दाहालले दिए।

उनका अनुसार नेपालबाट भारत र भारतबाट नेपालतिर आवतजावत गर्नेहरुले मास्क र सेनिटाइजरको प्रयोग गरे÷नगरेको कुरामा ध्यान दिन थालिएको छ । साथै सामाजिक दूरी र सरसफाईमा ध्यान दिन पनि आग्रह गरिएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ