नेपालगञ्ज, ११ असोज । नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यबीचमा कुटाकुट भएको छ ।
कार्यपालिका सदस्य र वडाध्यक्षबीचको हानाहानमा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको छ ।
कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुले गुनासो गरेपछि भएको विवाद हात हालाहालसम्म पुगेको थियो ।
यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको थियो ।
उक्त बजेट पारदर्शी रुपमा खर्च नभएको वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र ७ नम्बरका अध्यक्ष जुम्मन खाँले उठाएपछि कार्यपालिका सदस्य देउमल सुनार प्रतिवादमा उत्रिएका थिए ।
सोही क्रममा कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहाबीचमा हात हालाहाल भएको हो ।
उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको रकमका विषयमा विवाद भएको जानकारी दिए ।
बोर्ड बैठकमा मेयर धवलशमशेर राणा, उपमेयर उमा थापालगायत सबैको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया