जनकपुरधाम, १२ असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले खुद्रा विकासले प्रदेश नं. २ को विकास सम्भव नरहेको बताएका छन् । उनले प्रदेश सरकारको पर्यटन प्रवद्र्धन कार्यप्रति असन्तुष्टि जनाए ।
होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले मंगलबार होटेल वेलकममा आयोजना गरेको पर्यटन प्रवद्र्धन सम्बन्धि छलफल कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले प्रदेश २ को पर्यटन प्रवद्र्धनका लागि एकीकृत योजना निर्माणमा जोड दिएका हुन् ।
धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको प्रदेश २ मा प्रदेश सरकारले एकीकृत योजना बनाउनु पर्नेमा जोड दिएका थिए ।
धार्मिक र ऐतिहासिक पर्यटन विश्वभरिमै पर्यटनको ठूलो हिस्सा ओगटेको उल्लेख गर्दै अध्यक्ष यादवले पर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेका प्रदेश भरिकै धार्मिक तथा ऐतिहासिक स्थलहरुलाई समेटेर एकीकृत योजना बनाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
कार्यक्रममा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि प्रदेशका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुमा विकास निर्माणको काम शुरु गरिसकेको र आगामी दिनमा एकीकृत योजना नै बनाएर अघि बढ्ने बताए ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको पर्यटन प्रवद्र्धन लागी हरेक पक्ष संग सहकार्य गर्न सरकार तयार रहेको उनको कथन थियो ।
कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह पर्यटकीय विकासमा अर्थको आभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा प्रमुख सचिव हरि प्रसाद मैनाली, अर्थ मन्त्रालयका सचिव, उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीतेन्द्रकुमार यादव, होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २का बरिष्ठ सल्लाहकार युवराज लामा, विजय कुमार झुनझुनवाला, अध्यक्ष हिरा गौतम, उपाध्यक्ष विष्णु साह, महासचिव मोहन शर्मा, कोषाध्यक्ष वैकुण्ठ सापकोटा सहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया