जनकपुरधाम, १३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।
आयोगको कार्यालय काठमाडौं र बर्दिबासको संयुक्त टोलीले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो ।
‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको विषयमा परेको उजुरीका आधारमा अख्तियारको टोलीले र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो ।
छापा मार्ने क्रममा अख्तियारको टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ ।
प्रदेश २ सरकारले छोरीहरूलाई विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्न ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ ।
त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिएको छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल नियन्त्रणया लिएको जानकारी दिए ।
प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको छ ।
तपाईको प्रतिक्रिया