जमुनाह नाकाका १७ प्रहरी फेरिए

समाचार

नेपालगञ्ज, १४ असोज । नेपालगञ्ज नाका जमुनाहाका डेढ दर्जन प्रहरी फेरिएका छन् । भारतमा मजदूरी गरेर फर्किनेहरुबाट पैसा उठाएको गुनासो आएपछि नाकामा पुगेका एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपानेले नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका १७ जना प्रहरी परिवर्तन गरेका हुन् ।

प्रहरीले नाकामा दसैं मान्न फर्किने नेपालीबाट ५० सय रुपैयाँ असुल्ने गरेको गुनासो आएको थियो । सादा पोशाकमा मुख छोपेर नाकामा पुगेका एसपी अधिकारी र डीएसपी न्यौपानेले ड्यूटीमा रहेका प्रहरीको काम चित्तबुझ्दो नरहेको पाएका थिए ।

डीएसपी न्यौपानेले लामो समयदेखि नाकामा बसेका र काम चित्तबुझ्दो नगरेकाहरुलाई उनीहरुलाई परिवर्तन गरेको बताए ।

एसपी अधिकारीले भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँबाट काम गरेर फर्किनेको झोला जाँच नगर्न निर्देशन दिएका छन् । 

कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरु भारतको कालापहाड, सिमला, प्रयागलगायत ठाउँमा मौसमी कामका लागि मजदूरीमा जाने गर्दछन् । उनीहरु चाडबाड मान्न घर फर्किरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ