रुपन्देहीका होटल मारमा

समाचार

रुपन्देही, १४ असोज । नेपाल–भारत सीमा नाका बन्द हुँदा रूपन्देहीको होटल र पर्यटन क्षेत्र मारमा परेको छ । कोभिड संक्रमण फैलन नदिनका लागि सीमानाका बन्द गरी पर्यटक आगमनलाई रोक लगाउँदा पर्यटन क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको हो ।

सीमानाका बन्द हुँदा रुपन्देहीमा सञ्चालित ३ सय बढी होटल तथा रेष्टुरेन्ट, १ सय बढी ट्राभल एजेन्सी धराशयी बनेको पर्यटन व्यवसायीको भनाइ छ ।

निजी क्षेत्रको करिब २५ अर्ब रूपैयाँ लगानी रहेको रुपन्देहीमा सरकारले सीमा नाका बन्द गरिदिँदा संकटमा परेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीलाई दृष्टिगत गरी जिल्लामा ठूलादेखि साना होटल सञ्चालनमा आएका थिए । जसमा कार्यरत अधिकांश कर्मचारीसमेत बेरोजगार भएका छन् । 

सिद्धार्थ होटल एसोसिएसन रुपन्देहीका अध्यक्ष तथा हानका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले हचुवाका भरमा सीमा नाका बन्द गर्दा पर्यटन क्षेत्र टाट पल्टिएको गुनासो गरे ।

कोभिड विरुद्धको खोप लगाएका र पीसीआर रिपोर्ट लिएर आउने पर्यटकका लागि सीमा खुल्ला गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्र बचाउनका लागि भारतीय पर्यटकको आगमनलाई सहज गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ