भारतसँग सीमा जोडिएको भद्रपुर नाका अझै खुलेन

समाचार

झापा, १५ असोज । जिल्लाको भद्रपुर सीमानाका अझै सञ्चालनमा आउन सकेको छैन । गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारदेखि जिल्लाका भद्रपुरसहित सबै नाका पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

नेपालले नाका सञ्चालन गर्ने निर्णय गरे पनि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले कुनै आदेश नआएको भन्दै भद्रपुर–गलगलिया नाका बन्द राखेको छ । एसएसबीले कसैलाई आवतजावत गर्न दिएको छैन ।

यसले गर्दा भद्रपुर नगरपालिकाले सीमानाकामा राखेको स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क उद्घाटन कार्यक्रम पनि सरेको छ ।

सशस्त्र प्रहरीबल नेपाल बोर्डर आउटपोस्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहाल नाका खुलाउने विषयमा सहजीकरणका लागि भारतीय एसएसबी ४१ बटालियन भातगाउँका इन्स्पेक्टर सत्यनारायणलाई भेट्न गएका थिए ।

त्यसबारे इन्स्पेक्टर सत्यनारायणले एसएसबी ४१ बटालियन रानिडाँगाका एसएसपी सुवासचन्द्र नेगीसँग बुझेका थिए ।

नेगीले माथिबाट आदेश नआएको भन्दै नाका नखोल्न इन्स्पेक्टर सत्यनारायणलाई आदेश दिएका बताइएको छ । भद्रपुर नाका नखुलेपछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले शुक्रबार बिहान विहार किशनगञ्जका डिएम कुमार आशिषसँग फोन सम्पर्क गरेका थिए ।

आशिषले नाका खुलाउन आदेश नआएको र नेपालले गरेको निर्णय पठाइदिन प्रजिअ तिमिल्सिनालाई आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय झापाले डिएम आशिषलाई नाका सञ्चालन गर्ने बारेको निर्णय पठाइसकेको छ ।

प्रजिअ तिमिल्सिनाले भने, ‘किशनगञ्जका डिएमले नाका खुलाउने विषयमा सहजीकरण गर्ने बताउनु भयो । त्यसका लागि उहाँले एक÷दुई दिनको समय माग्नु भएको छ ।’

सशस्त्र प्रहरीबल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले भारतीय सुरक्षानिकायका प्रमुखसँग नाका खुलाउने विषयमा सहजीकरण भइरहेको बताए । कोरोनाले विगत १९ महिनादेखि बन्द रहेको भद्रपुर नाका सञ्चालनमा नआउँदा दक्षिणी भेगका जनता काँकडभिट्टा नाका प्रयोग गर्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ