वीरगन्ज, १५ असोज । कोरोनाका कारण असहज बनेको मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट साना सवारीसहित सर्वसाधारणका लागि खुला भएको छ ।
नेपाल सरकारको मन्त्रिस्तरीय निर्णय सर्कुलर जिल्ला प्रशासन कार्यालय र वीरगन्ज भन्सार कार्यालयमा आइपुगेपछि शुक्रबारबाट प्रमुख नाका खुला भएको हो ।
अब दुवै देशका नागरिकले निजी सवारीसहित सीमा नाका वारपार गर्न पाउने भएका छन् । नाका खुला भएपछि स्वास्थ्यसम्बन्धी केही मापदण्ड भने अपनाउन पर्नेछ ।
कोरोना पूर्वकै अवस्थामा नाका सुचारु भएको वीरगन्ज भन्सारका सूचना अधिकारी सुमित गुप्ताले बताए । सुरक्षा र स्वास्थ्यकर्मीले अनुमति दिएका गाडीलाई कुनै रोकावट नभएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।
कोरोनाको दोस्रो लहर मत्थर हुन थालेपछि दुवैतर्फका मानिस सीमानाकाबाट निस्ष्फिक्री आवतजावत गर्दै आएका थिए ।
उनीहरूका सवारी भने नाकामै रोकी पैदल वारपार गर्नुपथ्र्यो । बुधबारबाट त्यो झन्झट हटेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
सीमापारि नै गाडी रोकिँदा पर्यटकहरू नेपाल आउन कठिनाइ भएको थियो । स्थलमार्ग भएर भारत तथा तेस्रो मुलुकका पर्यटक पातलिँदा पर्यटकको भरमा चल्ने सीमाक्षेत्रका होटल व्यवसाय धरापमा परेका थिए । यो विषयलाई लिएर पर्साको होटल तथा पर्यटन व्यवसायी संघले केही दिनअघि प्रधानमन्त्रीलाई भेटेको थियो ।
तपाईको प्रतिक्रिया