काठमाडौं, १७ असोज । भारतले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै आउने भएको छ ।
भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै पठाउने जानकारी गराएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।
दाहालका अनुसार कम्पनीले नेपाललाई बाँकी रहेको १० लाख डोज खोप छिट्टै पठाउने औपचारिक जानकारी गराएको छ । ‘खोप चाँडै आइपुग्छ, सम्भवतः एक हप्तामा । हाम्रो अलिकति पेमेन्ट बाँकी रहेका कारण त्यसैको प्रक्रियामा छौँ,’ उनले भने ।
नेपालले गत वर्ष फागुन ५ गते भारतसँग २० लाख डोज खोप खरिद गरेको थियो । खरिद सम्झौताअनुसार १० लाख डोज आइसके पनि १० लाख डोज भने आउन बाँकी नै थियो ।
भारतबाट समयमै खोप नआएपछि पहिलो डोज लगाएका १४ लाख नागरिक समयमै दोस्रो डोज लगाउन नपाउँदा प्रभावित भएका थिए ।
नेपालले भारतसँग प्रतिडोज ४ डलरका दरले २० लाख डोज खोप खरीद गर्ने सम्झौता गरेको थियो ।
नेपालमा अहिलेसम्म कोभिशिल्ड अनुदानमा ११ लाख डोज, कोभ्याक्स सुविधामार्फत ३ लाख ४८ हजार र खरीद गरेको २० लाखमध्ये १० लाख गरी २४ लाख ४८ हजार डोज आइसकेको छ । यस्तै सेरमले अक्टोबरदेखि खोप आपूर्ति गर्न सक्ने जानकारी गराएको छ ।
तपाईको प्रतिक्रिया