मुख्यमन्त्रीलाई सोनलको आग्रह, ‘राजीनामा दिनुस्, प्रदेशको गरिमा बचाउनुस्’

समाचार

जनकपुरधाम, २० असोज । प्रदेश नं. २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रदेश २ को सातौं अधिवेशनमा सम्बोधन गर्दै नेता सोनलले प्रदेश मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीमाथि आरोपहरु लगाउँदै सरकारको वैधानिकताको प्रश्नसमेत उठाएका छन् ।

नेता सोनलले मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको गरिमा माथि नै आँच आएको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् ।

अख्तियारले आमनागरिकको गुनासो र उजुरीहरुको आधारमा छापा मारेको भन्दै निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका हुन् । उनले प्रदेशकै गौरवको आयोजनालाई यो सरकारले बदनाम गराएको समेत बताए ।

उनले अख्तियारको छापा हान्दै लौकामा औला देखाए झैँ संघीयता सुक्ने होइन भने मुख्यमन्त्री कार्यालय र प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीलाई राजिनामा दिनु पर्ने बताए ।

‘अख्तियारको छापापछि मुख्यमन्त्रीको नैतिकतामाथी प्रश्न उठेको छ, उनले आफ्नो नैतिकता बचाउनलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्नु पर्छ’ उनले भने ।

साइकलको नाममा प्रदेशका मन्त्रीहरुले आतंक मच्चाए

नेता सोनलले साइकल वितरणको नाममा मन्त्रीहरुले आतंक मच्चाएको बताएका छन् । उनले भने, ‘विद्यालयहरुमा मुख्यमन्त्री कार्यालयबाट फोन जान्छ र प्रधानाध्यापकलाई भनिन्छ कि मन्त्रीले मात्रै साइकल वितरण गर्छ, होइन भने पाउँदैन ।’

मन्त्रीले मात्रै साइकल वितरण गर्न पाउने भनी सोनलले आक्रोश व्यक्त गरेका थिए । उनले यो लोकप्रिय कार्यक्रमको श्रेय सबै सांसदले लिनुपर्ने ठाउँमा मन्त्रीहरुले आतंक मच्चाएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ