कुमार पौडेल प्रकरणमा १० जनाविरुद्ध जाहेरी दर्ता

समाचार

सर्लाही, २१ असोज । प्रहरीसँगको मुठभेटमा मृत्यु भएका भनिएका नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’ का नेता कुमार पौडेलको घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गरिएको छ ।

जिल्ला न्यायाधिवक्ता रिद्धिराज निरौलाको रोहवरमा कुमारकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी सनाखत गरिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलले असोज ११ गते जाहेरी दर्ता गरेर अदालतलाई जानकारी गराउन आदेश दिएपछि पौडेलले जाहेरी दिएकी हुन् ।

२०७६ असार ५ मा सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जंगल नजिक प्रहरीको गोली लागेर नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’ का नेता पौडेलको मृत्यु भएको थियो ।

पौडेललाई कब्जामा लिएर गोली हानेर हत्या गरिएको परिवारको दाबी छ । तर, प्रहरीले सो घटनालाई ‘इन्काउन्टर’ गरिएको जिकिर गर्दै आएको छ । हुलाकबाट पठाएको जाहेरी दर्ता नगरेको भन्दै कुमारकी आमा दुर्गादेवी पौडेलले २०७७ मंसिर १२ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

आफ्नो छोराको गैह्रन्यायिक हत्या गरिएको भन्दै दुर्गादेवीले १० जनालाई विपक्षी बनाएर हुलाकबाट जाहेरी पठाएकी थिइन् । सो जाहेरी न्यायाधिवक्ताको रोहबरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले निवेदीकाबाट सनाखत गराएको छ ।

सर्लाहीका तत्कालिन सीडीओ कृष्णबहादुर राउत, एसपी गोपालचन्द्र भट्टराई, प्रदेश–२ का तत्कालीन डिआइजी हरिबहादुर पाल, इप्रका लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, इप्रका नवलपुरका सई सूर्य कुमार कार्की र जिल्ला अस्पतालमा सर्लाहीका डा. वीरेन्द्रकुमार मण्डल विरुद्ध किटानी जाहेरी दिइएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत हवल्दारहरु सत्यनारायण मिश्र र विनोद शाह तथा इन्सपेक्टर कृष्णदेव प्रसाद शाह (केडी) बिरुद्ध पनि किटानी जाहेरी दिइएको छ ।

पीडित पक्षले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई पनि योजनामा संलग्न भएको जिकिर गरेका छन् ।

घटनाबारे गृहमन्त्री रामबहादुर थापाले संसदमा दिएको जवाफ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिएको प्रतिक्रिया समेतका आधारमा उनीहरुमाथि पनि अनुसन्धान हुनुपर्ने दुर्गादेवीले जिकिर गरेकी छिन् ।

अनुसन्धान अधिकृत तोकेर घटनाबारे अनुसन्धान शुरु गरिने एसपी राठौरले बताए । उनले भने–‘अनुसन्धान प्रक्रिया अघि बढेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ