चुरे क्षेत्रमा लगाइएको तारबार हटाउने अभियान सुरु

समाचार

रौतहट, २१ असोज । डिभिजन वन कार्यालय रौतहटले चुरे क्षेत्रमा अतिक्रमण रोक्न पहिलो चरणमा अतिक्रमणकारीले लगाएको तारबार हटाउने अभियान थालेको छ ।

पछिल्लो केही समययता आफूलाई सुकुम्बासी भन्नेहरू चुरे क्षेत्रमा तारबार लगाउँदै ठूलाठूला पक्की घर बनाउन थालेपछि वन कार्यालयले हटाउने अभियान थालेको हो ।

सुरक्षा दस्तासहित चुरे क्षेत्रमा पुगेर दुई सातादेखि अभियानकै रूपमा अतिक्रमण हटाउँदै आए पनि उनीहरूले हैरान पारेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख अमरदेव यादवले बताए । 

पछिल्लो समय चुरे अतिक्रमण गरी बसेकाले राष्ट्रिय वनभित्रै पक्की घर बनाएका छन् । उनीहरू निर्धक्क र निर्वाध रूपमा भौतिक संरचना निर्माण गरिरहेका छन् ।

चुरे क्षेत्रको भोलनटार, अरुणबस्ती, इपिलिघारी, महादेवडाडा, स्वस्तीलगायत क्षेत्रमा सुकुम्बासी भनाउँदाहरू रातारात अक्रिमणमा सक्रिय रहेको वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयका अनुसार १ हजार ४ सय २५ हेक्टर चुरे क्षेत्र अतिक्रमणमा परेको छ । त्यस क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीले चुरे कब्जा गरी रुख काटेर खेती लगाउँदै आएका छन् । सरकारले अघि सारेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसमेत त्यस क्षेत्रमा गर्न दिएका छैनन ।

डिभिजन वन कार्यालयअन्तर्गतको धन्सार, गैंडाटार र पौराईको चुरे भेग सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको छ । रौतहटको कुल २९ हजार ४ सय हेक्टर वन क्षेत्रमध्ये ३ हजार १ सय ९० हेक्टर अतिक्रमणमा परेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ