कपिलवस्तु, २१ असोज । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोपबाट दुई जनाको मृत्यु भएको छ । यस्तै एक सयभन्दा धेरै विरामी परेका छन् ।
कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको छ । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा बिरामीहरुको चाप छ । अस्पतालमा झाडापखालाका ९० भन्दा बढी व्यक्ति उपचाररत छन् ।
बिरामीको चाप बढेपछि एउटा बेडमा दुई जनालाई राखेर र कतिपयलाई भुईंमै राखेर उपचार गर्नु परेको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले जानकारी दिए ।
बिरामीहरुलाई अस्पतालको आँगनमा खटियामा राखिएको छ । डोरी टाँगेर, त्यसमा स्लाइन पानी झुण्ड्याएर बिरामीहरुलाई दिइएको छ ।
झाडापखालाबाट एउटै गाउँका ६२ जनासम्म बिरामी परेका छन् । बिरामीहरु धेरैजसो बालबालिकाहरु छन् । गम्भीर बिरामी परेकाहरुलाई जिल्ला अस्पतालमा र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ ।
यसैगरी जिल्ला अस्पतालबाट चिकित्सकको विज्ञ टोली शिवराज अस्पताल पठाइएको छ ।
तपाईको प्रतिक्रिया