विराटनगर, २१ असोज । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसलाई बलियो बनाउन प्रतिशोधको भावना त्याग्न आग्रह गरेका छन् ।
लोकतान्त्रिक पार्टीभित्र अस्वस्थ्य प्रतिस्पर्धा बढ्दै गएकोले एउटाले अर्कोलाई समाप्त पार्ने प्रतिशोधको भावना त्याग गर्नु पर्ने उनले आग्रह गरे ।
विराटनगर विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘बलियो बनाउन प्रतिशोधको भावना त्याग्नु पर्ने छ ।’ पार्टीलाई बलियो बनाउन भावनात्मक रुपमा एक हुनु पर्ने उनले सुनाए ।
वर्तमान अवस्थामा पार्टीभित्र धेरै नै गुट र उपगुट रहेको बताउँदै उनले पार्टीभित्र सैद्धान्तिक विचारका अधारमा एकताको आवश्यकता रहेको बताए ।
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सैद्धान्तिक रुपमा स्वस्थ्य प्रतिस्पर्धा गर्नुतर्फ सबैलाई लाग्नु पर्ने उनले बताए ।
आफू कुनै गुटमा नरहेको बताउँदै उनले भने, ‘पार्टीको झण्डाभित्र सबै शीर्ष नेताबीच भावनात्मक एकता गराउने योजना रहेको छ ।’ आफू कांग्रेसको आउँदो १४ औं महाधिवेशनमा पार्टीको सभापतिको आकांक्षी नरहेको प्रष्ट पारे ।
तपाईको प्रतिक्रिया