१६ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ

समाचार

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दलीय गठबन्धनको सरकार ८८औं दिनमा पूर्णता पाएको छ ।

मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री देउवाले सरकार बनेको ८८औं दिनमा १६ मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मन्त्रिपरिषद् गठन भएसँगै यो २५ सदस्यीय भएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए ।

२५ सदस्यीय मन्त्रिपरिषदमा नेपाली काँग्रेसबाट प्रधानमन्त्रीसहित १०, माओवादी केन्द्र ६, नेकपा एकीकृत समाजवादीबाट ५, जनता समाजवादी पार्टी (जसपा) ४ जना नियुक्त भएका छन् । यस्तै काँग्रेस, माओवादी र एकीकृत समाजवादीबाट एक एक जना गरी ३ जना राज्यमन्त्री छन् ।

शुक्रबार विस्तारित मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए । देउवाले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवलाई शपथ पद तथा गोपनियताको शपथ गराएका हुन् ।

नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री छन् ।

त्यसैगरी डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् ।

त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद विस्तार गर्दा यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ