काठमाडौं, २३ असोज । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ ।
उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा शनिबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको नेपाली कांग्रेका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
भेटमा आफूहरुले नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा कुरा उठाएको महतले बताए । भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताएका थिए ।
मुख्यमन्त्री आदित्यनाथले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको बताउँदै नेपालको रष्ट्रियता बलियो हुँदा मात्रै भारतको हित हुने बताएको महतले सुनाए ।
भेटमा महतले बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुनुसक्ने विषयमा चासो राखेका थिए । मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा निर्देशन दिइसकेको जानकारी पनि दिएको महतले बताए ।
भारतीय जनता पार्टीको निमन्त्रणामा तीनदिनअघि भारत गएको महत नेतृत्वको सो प्रतिनिधिमण्डलमा कांग्रेसका नेताद्वय उदयशमशेर राणा र अजय चौरसिया छन् । शनिबारको भेटमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर थिए ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र नेपालीको राष्ट्रियता बलियो हुनु भारतको लागि हितकर हुने बताएका छन् । उनले नेपाल भारतको सबैभन्दा नजिकको मित्र रहेको र उसको समृद्धि भारतीय जनताले चाहेको बताए ।
‘नेपाल जति समृद्धि र बलियो हुन्छ, त्यो त्यति नै भारतका लागि हितकर हुन्छ,’ उनले भनेका छन् –‘त्यसका लागि भारत सरकार र भारतीय जनताले हरसम्भव सहयोग नेपाललाई गर्ने छन् । ’
नेपाली कांग्रेसका नेताहरुसँगको भेटघाटमा मुख्यमन्त्री आदित्यनाथले नेपाली जनता धेरै विश्वसनीय रहेको चर्चा गरेका थिए ।
उनले समान धर्म र संस्कृति रहेको दुई देशका जनताबीचको सम्बनधलाई थप बलियो बनाउनुपर्नेमा दुवै पक्षका सरकारले जोड दिनुपर्ने उल्लेख गरे । उनले नेपाललाई सहयोग गर्ने कुरालाई भारतले सदैव प्राथमिकतामा राख्नुपर्ने र समस्याहरुको समाधान गरेर अगाडि बढ्नुपर्ने बताएका थिए ।
भारतीय जनता पाार्टीको विदेश विभागको निम्तोमा यहाँ आएका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, नेताहरु अजयकुमार चौरसिया र उदयशमशेसर राणा तीन दिनदेखि बिजेपीका नेताहरुसँग भेटघाटमा व्यस्त छन् ।
महतले भारतीय सहर र सीमा क्षेत्रमा नेपालीले भोग्ने समस्या तर्फ मुख्यमन्त्री योगीको ध्यानाकर्षण गराएका थिए । त्यस्तै, बनारसमा रहेको नेपाली पशुपतिनाथ मन्दिरको संरक्षणको कुरा पनि उठाएका थिए । लखनउपछि कांग्रेस नेताहरु उत्तरप्रदेशकै अर्को सहर बनारस पुगेका छन् ।
यसअघि महत नेतृत्वको टोलीले बिजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, विदेशमन्त्री एस जयशंकर र बिजेपी राष्ट्रिय महासचिवहरु तथा विदेश विभागका पदाधिकारीहरुसँग भेटघाट र छलफल गरेको थियो ।
तपाईको प्रतिक्रिया