जनकपुरधाम, १ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले उपेन्द्र यादवले १८ महिना सरकारमा रहँदा गर्न नसकेका काम आफूहरु १८ दिनमै गरेको दाबी गरेका छन् ।
जनकपुरधाममा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता अरगरियाले उक्त कुरा बताएका हुन् ।
उपेन्द्र यादव १८ महिना सरकारमा रहँदा गर्न नसकेका काम आफूहरुले १८ दिनमा गरेर देखाइदिएको उनले बताए ।
‘हामीले मधेश आन्दोलनका क्रममा लागेका २ सय भन्दा बढी मुद्दा फिर्ता गराएको, संविधान संशोधनको प्रकृया शुरु गरायौं’ उनले भने ।
उनले भ्रष्टाचार भएकै कारण अख्तियारले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा छापामारी गरेको बताए ।
उनले जनता समाजवादी पार्टी (जसपा) भ्रष्टाचारीहरुको झुन्ड रहेको बताएका छन् ।
साइकल खरीदमा अनियमितता गरेपछि अख्तियारले छापामारी गरेको भन्दै उनले साइकल चोरलाई बचाउन मसाल जुलुस निकालिएको बताए ।
अख्तियारले छापा मारेपछि मुख्यमन्त्रीलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्नेमा नदिइएको उनले बताए ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका अरगरियाले दुई तिहाईको प्रदेश सरकारलाई अबिलम्ब प्रदेशको नामाकरण गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया