प्रदेश २ का किसानका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

समाचार

जनकपुरधाम, ३ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बाढीपीडित किसानहरुका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २को धानवालीमा व्यापक क्षति भएको उल्लेख गर्दै विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेका हुन् ।

पछिल्लो बाढीले देशैभरि ठूलो क्षति भएपछि संघ सरकारले क्षति व्यवस्थापनका लागि प्राधिकरणको बैठक बोलाएको थियो । 

बैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्दै संघ सरकारले प्रदेश २ को किसानहरुका लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने धारणा राखेका थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको उक्त बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव लगायतको उपस्थिति रहेको थियो । 

पछिल्लो बाढीले धानबालीमा पु¥याएको क्षतिका कारण प्रदेश २का किसानहरु सबै भन्दा बढी समस्यामा परेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ