जनकपुरधाम, ४ कार्तिक । डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा नगर घुमाएका छन् ।
वर्षाको पानी ढल निकास भएर बग्न नसकेको भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले गुण्डाशैलीमा खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई कुटपिट गर्दै नगर परिक्रमा गराएका हुन् ।
जनकपुरधाममा जनमत पार्टीले देखाएको गुण्डागर्दी शैली चारैतिरबाट विरोध भएको छ । दुई दिनको अविरल वर्षाले जनकपुरधाम जलमग्न भएको थियो ।
ढल निर्माणमा अनियमितता भएकोको कारण नगर जलमग्न भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले गुण्डागर्दी शैली प्रदर्शन गरेको स्थानीयको भनाइ छ ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले लाठी भ्रठ्ठाको बलमा कुशवाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपीट गर्दै जनकपुरधामको रामानन्द चोकदेखि नगर परिक्रमा गराएका थिए ।
उनीहरुले कुशवाहाको लुगा च्यात्नुका साथै मुखमा नालामा रहेको हिलो दलेर अर्धनग्न अवस्थामा कुटपिट गर्दै नगर घुमाएका थिए । उनीहरुले ‘साइकल चोर देश छोड’, ‘भ्रष्ट मेयर चाहिँदैन’ लगायतका नारा लगाएका थिए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले जनमत पार्टीका १० जना कार्यकर्तालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया