बाढीबाट भएको क्षतिप्रति सरकार चिन्तित : अर्थमन्त्री शर्मा

समाचार

सर्लाही, ४ कार्तिक । अर्थमन्त्री जनार्दन शर्माले सरकार बाढी, पहिरो र डुबान प्रभावितको व्यवस्थापनमा जुटिसकेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता शिवपुजन रायका बुवा अमिरिलाल रायको श्रद्धाञ्जलि सभामा सहभागी हुन बुधवार सर्लाहीको रामनगर गाउँपालिका–५, आएका अर्थमन्त्री शर्माले तत्काल प्रभावितको उद्धारको काम भइरहेको र यथाशीघ्र राहत प्याकेज समेत घोषणा गरिने बताए ।

बेमौसमी वर्षाले तराई, पहाड सबैतिर भएको जनधनको व्यापक क्षतिप्रति सरकार चिन्तित रहेको अर्थमन्त्री शर्माको भनाइ छ । मन्त्री शर्माले परिवर्तन नचाहनेले अहिले माओवादी पार्टीमाथि आक्रमण गरिरहेको दाबी गरे ।

मन्त्री शर्माले चौतर्फी घेराबन्दी हुँदाहुँदै पनि आफूहरू देशलाई अग्रगमनतर्फ लैजान र परिवर्तन संस्थागत गर्न लागि परेको बताए ।

पूर्वमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवको अध्यक्षतामा पार्टीका तर्फबाट श्रद्धाञ्जलि सभा आयोजना गरिएको थियो ।

साविक गहडिया सिसौट, गडहिया र डुमरिया गाविसका गरी चारपटक गाविस अध्यक्ष भएका अमिरिलाल रायको असोज २३ गते निधन भएको थियो ।

श्रद्धाञ्जलि सभामा सहभागी हुनुअघि मन्त्री शर्माले बरहथवा नगरपालिका–११ स्थित निकै पुरानो हीरापुर ब्यारेजको निरीक्षण समेत गरे । विक्रम संवत् २०२२ सालमा राजा महेन्द्रको पालामा निर्माण भएको उक्त ब्यारेज संरक्षण अभावमा जीर्ण बनेको छ ।

जिल्लाको पश्चिमी क्षेत्रको मध्य भागमा रहेको ब्यारेजको पुल जीर्ण रहेकाले सर्वसाधारणलाई आवतजावत गर्न समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।

मन्त्री शर्मालाई बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो, पूर्वसांसद नरेन्द्र साह लगायतले ब्यारेजको अवस्थाबारे जानकारी गराएका थिए ।

नगरप्रमुख महतो र पूर्वसांसद साहले किसानलाई सहज रूपमा सिँचाइको प्रबन्ध मिलाउन हीरापुर र मानपुर ब्यारेजको मर्मत सम्भारका लागि पहल गरिदिन मन्त्री शर्मासँग आग्रह समेत गरे । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ