कैलाली, ४ कार्तिक । कैलालीको टीकापुरको खक्रौला नाका खुलेपछि सर्वसाधारणको आउजाउ बढ्न थालेको छ । कोरोनाका कारण खक्रौला नाका बन्द थियो ।
कोभिडको खोप लगाएकालाई मात्र भारतीय सुरक्षाकर्मीले प्रवेश दिएको इलाका प्रहरी कार्यालय सत्तीका प्रमुख प्रहरी नायब निरीक्षक चंखबहादुर कठायतले बताए ।
उनका अनुसार नाका खुलेपछि दैनिक उपभोग्य सामानका लागि सीमा क्षेत्रका बासिन्दा साइकल तथा मोटरसाइकलबाट तिकुनिया बजारसम्म जान थालेका छन् ।
खक्रौला नाकामा रहेको मोहना नदीमा पुल नहुँदा तिकुनिया बजार आउजाउ असजिलो थियो । पुल बनेपछि तिकुनिया बजार जान सकिने भएको हो ।
पुल बनेपछि भारत आवतजावतमा सहज भए पनि नेपालबाट निर्यात गर्ने वस्तु केही नभएको तर किनमेलका लागि उपभोक्ताहरू ठूलो संख्यामा तिकुनिया बजार पुग्ने गर्छन् ।
चाडबाडका बेला अधिकांश दैनिक उपभोग्य वस्तु सीमापारिकै बजारबाट स्थानीयले किनमेल गर्छन् । नाका खुलेपछि स्थानीय किनमेलका लागि भारत जान थालेपछि निकै घाटा बेहोर्नु परिरहेको टीकापुरका व्यापारीहरू बताउँछन् ।
तपाईको प्रतिक्रिया